|  

समयमै आयोजना सम्पन्न गर्न बजेटको समस्या हुन दिन्नः मन्त्री महासेठ

२० बैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न बजेटको समस्या हुन नदिने बताएका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आश्वासन दिएका हुन् । विभिन्न समस्या समाधान गर्दै राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढेको उनको जिकिर छ । मन्त्री महासेठले करिब १८ सय किलोमिटर रहेको हुलाकी सडकखण्डको कामले गति लिएपनि केहि खण्डमा समस्या देखिएकाले असार मसान्तभित्र समस्या समाधान गरि काम गर्न अल्टिमेटम दिएको जानकारी दिए ।

उनले महिनाको डेडलाख सवारी चालक अनुमति पत्र छाप्ने गरि काम सुरु भइसकेको भन्दै पूर्ण रुपमा छाप्न १२ देखि १४ महिना लाग्ने जिकिर गरे । उनले सवारी चालक अनुमति छपाइमा अव समस्या नहुने दाबी गरेका छन् । बैठकमा समिति सदस्यहरुले विभिन्न आयोजनाहरु समयमा नै सम्पन्न नहुँदा आम जनतालाई समस्या परेको भन्दै राज्यले गम्भीर भएर ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।