|  

प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल

७ बैशाख, काठमाडाैँ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन् । मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोर्‍याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको महासचिव पोखरेलले बताए ।

उनले आलोपालो प्रधानमन्त्री बन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको बताए ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा महासचिव पोखरेलले एमाले सत्ताका लाागि लालायित नभएको जिकिर गरे । मुलुकलाई सही बाटोमा डोर्‍याउने संकल्पका साथ नयाँ सत्ता समीकरण बनाएको उल्लेख गरे ।

उनले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आईपरे एमालेले कांग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताए । महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्ता समीकरण बन्दा पनि महत्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताए ।