|  

अब फेसबुकमा कमेन्ट पनि एआईले नै लेखिदिने 

७ बैशाख, काठमाडौं । फेसबुकमा अब कमेन्ट पनि (एआई)ले नै लेखिदिने भएको छ । मेटाले ल्याउन लागेको एआईको नयाँ भर्सनमा यस्तो सुविधा हुनेछ ।

मेटाका मालिक मार्क जुकरबर्गले बिहीबार एक भिडिओ पोस्ट राख्दै ‘मेटा एआई’ को नयाँ भर्सन सबै प्रयोगकर्ताका लागि चाँडै नै सार्वजनिक हुन लागेको जानकारी दिए । जुकरबर्गका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपमा एआई इन्टिग्रेट हुनेछ । यी एपको सबैभन्दा माथि एआईको अप्सन देखिनेछ । त्यहीँ ट्याप गरेर प्रयोगकर्ताले आफूले चाहेका प्रश्न सोध्न सक्नुका साथै त्यसलाई चाहेअनुसार निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

उक्त फिचर आएपछि प्रयोगकर्ताले फेसबुकमा राख्ने कमेन्ट पनि एआईबाटै तयार पार्न सक्नेछन् । हुन त अहिले पनि कुनै फोटो वा पोस्ट‍को कमेन्ट सेक्सन हेर्ने हो भने त्यहाँ पहिले नै तयार पारिएका कमेन्टहरू देख्न सकिन्छ ।

तर, अब भने ती कमेन्ट आफैंले एआईको सहायताले तत्कालै तयार पार्न सकिनेछ । यो फिचर पाइसकेका प्रयोगकर्ताका अनुसार कमेन्ट स्पेसमा ‘कमेन्ट विथ एआई’को अप्सन राखिएको छ । त्यही अप्सनमा ट्याप गरेर कमेन्ट लेख्न सकिने बताइएको छ ।