|  

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ संकल्प प्रस्ताव पारित

३० चैत, काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले उक्त प्रस्ताव पेस गरेकी थिइन्। उक्त प्रस्तावमाथि छलफलपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

‘संकल्प प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनका सरकार र कार्यान्वयन भए–नभएकोबारे अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिइन्छ,’ अध्यक्ष दाहालले निर्देशन दिँदै भने।

आजको बैठकमा उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संकल्प प्रस्तावमा उल्लेखित विषयलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग, कुपोषण, परिवार नियोजन, मातृ तथा नवजात शिशुलगायत विभिन्न नौवटा शीर्षकमा स्वास्थ्य सेवा उपलब्ध भइरहेको बताए। पालिकास्तरका स्वास्थ्य केन्द्र निर्माण भइरहेको पनि उनले जानकारी दिए।